नेभिगेशन
कोरिया गतिविधी

नेपथ्य कन्सर्टमा छात्रामाथि दुर्व्यवहार भएको भनिएको घटनामा निष्पक्ष छानबिन गर्न SONSIK को अपिल

नेपथ्य कन्सर्टमा छात्रामाथि दुर्व्यवहार

सोल, दक्षिण कोरिया। दक्षिण कोरियामा सेप्टेम्बर २५ मा आयोजित नेपथ्य ब्याण्डको कन्सर्टका क्रममा एक नेपाली छात्रामाथि दुर्व्यवहार भएको भनिएको घटनाको शीघ्र, निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) ले सम्बन्धित निकाय तथा कार्यक्रम आयोजकसँग अपिल गरेको छ।

IMG_3243-1790501610.JPG
SONSIK ले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै छानबिनमार्फत वास्तविकता सार्वजनिक गर्न र दोषी प्रमाणित हुने व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाउन आग्रह गरेको हो।

संस्थाले दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा, सम्मान र मर्यादा सुनिश्चित गरिनुपर्ने विषयमा विशेष जोड दिएको छ। प्रत्येक विद्यार्थीले सामाजिक, सांस्कृतिक तथा सार्वजनिक कार्यक्रममा कुनै डर वा असुरक्षाबिना सुरक्षित र सम्मानजनक रूपमा सहभागी हुन पाउने वातावरण सुनिश्चित गर्नु सबै सम्बन्धित पक्षको जिम्मेवारी रहेको SONSIK को भनाइ छ।

त्यस्तै, घटनाको छानबिन चलिरहँदा अपुष्ट सूचना, अनुमान तथा पीडितको पहिचान खुल्ने सामग्री सार्वजनिक वा प्रसार नगर्न पनि SONSIK ले नेपाली समुदायलाई अपिल गरेको छ। पीडितको गोपनीयता र मर्यादाको सम्मान गर्दै सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न संस्थाले आग्रह गरेको छ।

SONSIK ले दक्षिण कोरियास्थित सम्पूर्ण नेपाली समुदायलाई यस्ता संवेदनशील विषयमा संयमता अपनाउन तथा आपसी सम्मान, जिम्मेवारी र सहयोगको भावना कायम राख्न समेत अनुरोध गरेको छ।

5F993252-AC2F-4F72-8568-4BC991AB8379-1789481639.PNG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी