नेभिगेशन
नेपाल गतिविधी

भीमफेदी र तल्लो तटीय क्षेत्रको सुरक्षाका लागि ‘पूर्वसूचना प्रणाली’ जडान गर्न माग

अघोर, मण्डु, ल्हाम र दमार खहरे खोलामा स्वचालित जलसतह मापन केन्द्र राख्न आग्रह

मकवानपुर। मकवानपुरको भीमफेदी तथा तल्लो तटीय क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न राप्ती नदीका प्रमुख स्रोत क्षेत्रमा आधुनिक पूर्वसूचना प्रणाली (Early Warning System) तत्काल जडान गर्न माग गरिएको छ।

आशिष असलामी मगरले भीमफेदी गाउँपालिका तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अघोर खोला, मण्डु खोला, ल्हाम खोला तथा दमार खहरे खोलाको सिर क्षेत्रमा स्वचालित मौसम तथा जलसतह मापन केन्द्रसहितको पूर्वसूचना प्रणाली स्थापना गर्न आग्रह गरेका हुन्।

उनका अनुसार हाल भीमफेदी, हेटौँडा लगायत मकवानपुरका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा र पहाडी भिरालो भू-बनोटका कारण पूर्वी राप्ती खोलाको जलसतह तीव्र रूपमा बढ्ने जोखिम छ। यस्तो अवस्थामा माथिल्लो क्षेत्रमा परेको वर्षा र खोलाको बहावबारे तल्लो तटीय क्षेत्रका नागरिकले समयमै जानकारी पाउने व्यवस्था अत्यावश्यक रहेको उनको भनाइ छ।

विगतका विपद बाट पाठ सिक्न आग्रह ;मगरले भीमफेदी क्षेत्रले विगतमा भोगेका विनाशकारी बाढीपहिरोका घटनालाई स्मरण गर्दै पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

राप्ती नदीका मुख्य स्रोत मानिने अघोर खोला, मण्डु खोला, ल्हाम खोला तथा दमार खहरे खोलामा विगतमा आएको भीषण बाढीले भीमफेदी बजार, धोर्सिङ–बालाघाट बजार क्षेत्र, निबुवाटारको तल्लो क्षेत्र र भैंसेलगायतका स्थानमा ठूलो क्षति पुर्‍याएको उनले उल्लेख गरेका छन्। त्यसको प्रभाव हेटौँडा हुँदै चितवनसम्म पुगेको इतिहास रहेको भन्दै उनले जोखिमलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।

भीमफेदीको माथिल्लो पहाडी क्षेत्रमा हुने मुसलधारे वर्षा, पहिरो तथा जलविद्युत आयोजनासँग सम्बन्धित संरचनामा आउन सक्ने आकस्मिक समस्याले समेत तल्लो तटीय क्षेत्रमा छोटो समयमै ठूलो संकट निम्त्याउन सक्ने उनको चिन्ता छ।

वास्तविक समयमा वर्षा र जलसतह मापन गर्न माग; मगरले राप्तीको उद्गम तथा माथिल्लो जलाधार क्षेत्रमा पर्ने अघोर, मण्डु, ल्हाम र दमार खहरे खोलालगायतका स्थानमा Automated Weather/Hydrological Station जडान गर्न माग गरेका छन्।यस्तो प्रविधिमार्फत वास्तविक समयमै वर्षाको मात्रा, खोलाको जलसतह तथा बहाव मापन गरी सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने उनको भनाइ छ।

खोलाको जलसतह खतराको विन्दुमा पुग्नेबित्तिकै भीमफेदीदेखि हेटौँडासहित तल्लो तटीय क्षेत्रका नागरिक र सम्बन्धित सरकारी निकायलाई साइरन, एसएमएस (SMS) तथा अन्य डिजिटल माध्यमबाट तत्काल चेतावनी पुग्ने स्वचालित प्रणाली स्थापना गर्नुपर्ने उनले बताएका छन्।

समुदायलाई पनि विपद् प्रतिकार्यका लागि तयार राख्नुपर्ने; प्रविधि जडान गरेर मात्रै नपुग्ने भन्दै मगरले समुदायमा आधारित विपद् पूर्वतयारीलाई पनि उत्तिकै प्राथमिकता दिन आग्रह गरेका छन्।

पूर्वसूचना प्राप्त भएपछि नागरिकलाई कहाँ र कसरी सुरक्षित स्थानमा लैजाने भन्ने स्पष्ट योजना तयार गर्नुपर्ने, नियमित Mock Drill सञ्चालन गर्नुपर्ने तथा स्थानीय युवालाई खोज, उद्धार र विपद् प्रतिकार्यसम्बन्धी तालिम दिएर तयारी अवस्थामा राख्नुपर्ने उनको माग छ।

स्थानीय तह, सुरक्षा निकाय, समुदाय र स्वयंसेवकबीच प्रभावकारी समन्वय हुने संयन्त्र निर्माण गर्न सके सम्भावित विपद्का बेला जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिने उनले बताएका छन्।

“विपद् पूर्वसूचना बिना आउँछ, तर प्रविधिको सही प्रयोगले यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।” विगतका विनाशकारी घटनाबाट पाठ सिक्दै भीमफेदी गाउँपालिकाले तत्काल प्राविधिक अध्ययन गरी पूर्वसूचना प्रणाली स्थापनाको काम अघि बढाउने विश्वास मगरले व्यक्त गरेका छन्।

उनले जोखिमयुक्त क्षेत्रका नागरिकलाई समेत वर्षाको समयमा सतर्क रहन, नदी तथा खोलाको किनारमा अनावश्यक आवतजावत नगर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी