नेभिगेशन
मनोरञ्जन

भिमफेदीको भैंसेमा श्रीकृष्ण जात्रा हुँदै, रसुवाको भोटेकोशी बाढीपीडित सहयोगार्थ सांस्कृतिक कार्यक्रम गरिने

मकवानपुर। मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित भैंसे बजारमा हरेक वर्ष आयोजना हुँदै आएको श्रीकृष्ण जात्रा यस वर्ष पनि विविध धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना हुने भएको छ।

भैंसे बजार टोल विकास संस्थाका अनुसार २०८३ भदौ २० गते हुने जात्रामा बिहानैदेखि हाटबजार तथा मेला सञ्चालन हुनेछ। दिउँसो भने रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रमबाट बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

 

यसअघि टोल विकास संस्थाले सञ्चालन गर्दै आएको रात्रिकालीन सांस्कृतिक कार्यक्रम भने यस वर्ष संस्थाको आयोजनामा नहुने भएको छ। यद्यपि जात्राको रात्रिकालीन मनोरञ्जनलाई निरन्तरता दिँदै मकवानपुरकै चर्चित “SIXSTRING BAND” को आयोजनामा विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममा SIXSTRING BAND सँगै स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने बताइएको छ।

जात्राका अवसरमा लाग्ने मेलामा विभिन्न किसिमका व्यापारिक स्टल राख्न सकिने व्यवस्था गरिएको छ। आयोजकले व्यापार तथा व्यवसाय गर्न इच्छुक व्यक्ति तथा व्यवसायीहरूलाई आफ्ना सामग्रीसहित भैंसे बजारमा उपस्थित भई व्यापार गर्न आह्वान गरेको छ।

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै यस वर्षको जात्रालाई सामाजिक सेवासँग समेत जोडिएको छ। विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सहयोग जुटाउने अभियानले जात्रालाई थप मानवीय र सामाजिक उद्देश्यसँग जोड्ने आयोजकको विश्वास छ।

भैंसे बजार टोल विकास संस्थाका अध्यक्ष हरि लामाले श्रीकृष्ण जात्रा, हाटबजार तथा मेला र बाढीपीडित सहयोगार्थ सञ्चालन हुने कार्यक्रममा सहभागी भई सहयोग तथा ऐक्यबद्धता जनाउन स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।

#NewsKinara #श्रीकृष्णजात्रा #भैंसे #भिमफेदी #मकवानपुर #SIXSTRINGBAND #रसुवा #भोटेकोशी #बाढीपीडितसहयोग #सांस्कृतिककार्यक्रम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन