नेभिगेशन
नेपाल गतिविधी

सुरुङ मार्गको अलपत्र सपना: ३१ करोडको हिसाब र जनताको सास्ती

​सुरेन्द्र राज थीके,भीमफेदी, मकवानपुर

हेटौंडा-काठमाडौं सुरुङ मार्ग, जुन कहिले जनताको समृद्धिको सपना थियो, आज भीमफेदीको पारीबजारटोलमा अलपत्र परेको एउटा एक्साभेटर जस्तै जीर्ण बनेको छ। ३१ करोडभन्दा बढी जनसहभागिताको रकम र हजारौँको आशामाथि भएको यो खेलबाड अब केवल एउटा परियोजना मात्र रहेन, यो सार्वजनिक उत्तरदायित्वको गम्भीर प्रश्न बनेको छ।

परियोजनाको सुरुवातदेखि नै 'भनसुन' र 'पहुँच'को आधारमा शेयर वितरण हुनु नै यसको मुख्य विडम्बना थियो। सिद्धिलाल श्रेष्ठ र सुवास ठकुरी जस्ता व्यक्तिहरू, जसले जनतामा भ्रम छर्दै र संझाउँदै-बुझाउँदै शेयर संकलनमा मुख्य बिचौलियाको भूमिका निर्वाह गरे, उनीहरूकै कारण आज हजारौँ सोझा जनता ठगिएका छन्। उद्योगपतिको जस्तो रवाफ देखाउने यी वितरकहरूले पहुँचवाला र आफन्तलाई मात्र प्राथमिकतामा राखेर शेयरको 'हलालुट' गरे। भीमफेदीका स्थानीयले पार्वती राना, सिताराम थापा र द्रोणभद्र पुडासैनी मार्फत रगत-पसिनाको कमाइ जम्मा गरे पनि प्रतिफलको नाममा केवल कागजका टुक्रा (रसिद र पुर्जा) मात्र बाँकी छन्।

दुरुपयोगको नमूना: निर्माण स्थलमा बाटो बनाउन ल्याइएका मेसिनहरूमध्ये एउटा मेसिन खानपिनको उधारो रकम (करिब ४ लाख) तिर्न नसक्दा व्यवसायी अक्कल बहादुर लामाले रोकेर राख्नुले व्यवस्थापनको चरम आर्थिक गडबडी छर्लङ्ग पार्छ।

भूगर्भ र समयको चुनौती २०७२ को महाभूकम्पपछि जमिनको बनावटमा आएको परिवर्तनले पुरानो DPR र IEE लाई असान्दर्भिक बनाइदिएको छ। नयाँ अध्ययन बिना काम अघि बढाउनु प्राविधिक रूपमा असम्भव प्राय छ।

यो केवल ढुङ्गा-माटो खोस्रने कुरा मात्र होइन, यो जनताको पसिनाको हिसाब खोज्ने बेला हो। सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै ३१ करोड रकमको सुरक्षा र फिर्ताको पहल गर्नु अबको मुख्य कार्यसूची हुनुपर्छ।

​विकासको नाममा जनतालाई 'आँखामा छारो हाल्ने' यस्ता प्रपञ्चहरूका विरुद्ध अब सशक्त आवाज उठाउनु पर्छ। अबको लडाइँ 'लगानी फिर्ता' र यो बेथितिका मुख्य मतियारहरूमाथि कारबाहीका लागि हुनुपर्छ।

IMG_0897-1775473116.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी