नेभिगेशन
नेपाल गतिविधी

भीमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न: प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारमा जोड

​भीमफेदी खबर संवाददाता

भीमफेदी, मकवानपुर । १८ चैत्र, २०८२- ​भीमफेदी गाउँपालिकामा सुरक्षा निकाय र स्थानीय नागरिकबीच प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ "नागरिक सुनुवाई कार्यक्रम" भव्यताका साथ सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा चैत्र १७ गते भीमफेदीमा सो कार्यक्रम आयोजना गरिएको हो।

​कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्त श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एस.एस.पी.) श्याम बहादुर क्षेत्री रहनुभएको थियो।कार्यक्रममा सुरक्षा निकाय र स्थानीय प्रशासनका तर्फबाट निम्न व्यक्तित्वहरूको विशेष आतिथ्य रहेको थियो।

a876534120671264fc130f0142fe5fd0-3-1775040284.JPEG
जिल्ला ट्राफिक प्रहरी कार्यालयका डी.एस.पी.,​भीमफेदी कारागारका प्रमुख,​सशस्त्र प्रहरी बल (कारागार सुरक्षा) का डी.एस.पी.,​ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष,​प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठक,​स्थानीय वडाअध्यक्ष हरू उपस्थित रहेको थियो।

कार्यक्रममा भीमफेदी क्षेत्रका सक्रिय राजनीतिक दलका प्रतिनिधि, उत्साहजनक संख्यामा युवा वर्ग, स्थानीय व्यापारी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक, किसान तथा महिला अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागी स्थानीय भद्र-भलाद्मीहरूले भीमफेदीको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र प्रहरी सेवाका बारेमा आफ्ना जिज्ञासा र गुनासाहरू राखेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै एस.एस.पी. श्याम बहादुर क्षेत्रीले नागरिक र प्रहरी एक-अर्काका परिपूरक भएको बताउनुभयो। उहाँले अपराध नियन्त्रण र समाजमा शान्ति स्थापनाका लागि नागरिकको सूचना र सहयोग अपरिहार्य रहेको चर्चा गर्नुभयो। यस्तै, ट्राफिक प्रहरीका तर्फबाट बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक सुझावहरू दिइएको थियो।

इलाका प्रहरी कार्यालय भीमफेदीका इन्सपेक्टर सन्त श्रेष्ठले नागरिकबाट आएका सुझावहरूलाई आत्मसाथ गर्दै प्रहरी सेवालाई अझ बढी पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो रंगीचंगी बेलुन र ब्यानरले सजाइएको मञ्चमा आयोजित यस कार्यक्रमले भीमफेदीमा सुरक्षा निकाय र स्थानीय समुदायबीचको दुरी कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयले लिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी