सुवन, कोरिया — दक्षिण कोरियाको सुवन शहरमा एक पुरुषले पत्नीको हत्या गरी शवलाई करिब दुई महिनासम्म कारको डिक्कीमा लुकाएर राखेको अभियोगमा ४० वर्षीय कोरियाली पुरुषलाई अभियोजन पक्षले ३० वर्षको जन्म कैद सजाय माग गरेको छ।यो घटना गत वर्ष नोभेम्बर २६ तारिखमा ग्यङ्गी प्रान्तको सुवन शहरमा भएको हो। अभियुक्त ‘A’ ले आफ्नै घरमा श्रीमती ‘B’ को टाउकोमा आक्रमण गरी, पछि घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि शवलाई सिरकले बेरेर आफ्नै गाडीको डिक्कीमा राखी घर नजिकैको सार्वजनिक पार्किङ स्थलमा लुकाएका थिए।
पीडित ‘B’ हराएको सूचना उनका साथीले प्रहरीलाई दिएपछि अनुसन्धान शुरु गरिएको थियो। ‘B’ को कुनै जीबित भएको संकेत नपाएपछि प्रहरीले घटनालाई गम्भीर आपराधिक मुद्दाको रूपमा लिएर अनुसन्धान अघि बढायो। सिसिटिभी फुटेज र प्राविधिक प्रमाणको आधारमा अभियुक्तलाई यस वर्ष फेब्रुअरी १९ मा पक्राउ गरिएको थियो।प्रारम्भिक अनुसन्धानमा ‘ए’ ले अपराध स्वीकार गर्दै आफू मानसिक तनावमा रहेको बताएका थिए। उनले डिप्रेसनको कारण ‘सामान्य मानसिक अवस्थामा’ नरहेको दाबी गरे पनि, अभियोजन पक्षले त्यो तर्कलाई अस्वीकार गर्दै "हत्या गर्ने स्पष्ट कारणसमेत छैन र उल्टो पीडितमाथि दोष थोपर्ने प्रवृत्ति देखिएको" उल्लेख गरेको छ।
अदालतमा अभियुक्तले अपराध स्वीकार गरेका थिए भने पनि, हत्या किन गरियो भन्ने प्रश्नमा "मलाई थाहा छैन" भन्ने अस्पष्ट जवाफ दिएका थिए। उनका वकिलले पहिले अभियुक्तले भ्वाइस फिसिङ ठगीमा परेर आर्थिक समस्यामा परेका कारण तनाव बढेको दाबी गरे पनि, पछि अभियुक्तले सो भनाइ झूटो भएको र मानसिक रोगको असर रहेको बताए।

सुवन जिल्ला अदालत
अन्तिम बयानमा अभियुक्तले "छोराछोरी र पत्नीप्रति गहिरो पश्चात्ताप" व्यक्त गर्दै "म माथि ठूलो सजाय होस्" भन्ने शब्द प्रयोग गरेका थिए।यस घटनाले कोरियाली समाजमा ठूलो बहस सिर्जना गरेको छ। छिमेकी र परिचितहरूले पीडित ‘B’ लाई शान्त र दयालु महिला भनेर सम्झिरहेका छन्। यस्तो क्रूर हत्या स्थानीय समुदायका लागि अकल्पनीय भएको बताएका छन्।हाल, अदालतले चाँडै अन्तिम फैसला सुनाउने अपेक्षा गरिएको छ। पीडित पक्षले निष्पक्ष न्यायको माग गर्दै यस्ता घटनाविरुद्ध कडा कानुनी व्यवस्था र सामाजिक चेतना आवश्यक भएको बताएका छन्।
स्रोतः, नेभर कोरियन न्यूज एजेन्सी