नेभिगेशन
मार्सल आर्ट

ऐतिहासिक कांस्य पदक जितेर नेपाली कराते खेलाडी एरिका गुरुङ नेपाल फर्किइन्

नेपाली कराते खेलाडी एरिका गुरुङले मोरक्कोको राबातमा सम्पन्न कराते १ प्रिमियर लिगमा कांस्य पदक जितेर ऐतिहासिक सफलता हासिल गरेकी छन्। यो प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित कराते प्रतियोगितामध्ये एक हो, जहाँ प्रत्येक तौल समूहमा विश्वका शीर्ष ३२ खेलाडीहरू मात्र सहभागी हुन्छन्। एरिका यस प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

IMG_7160-1748946546.JPG
महिलाको ६८ किलोग्रामभन्दा माथिको कुमिते वर्गमा प्रतिस्पर्धा गर्दै, एरिकाले फ्रान्सकी २०औं वरियताकी पिया क्लेमेन्सलाई ६–२ को स्कोरले पराजित गर्दै कांस्य पदक जितिन्। हाल विश्व वरियतामा ५०औं स्थानमा रहेकी अरिकाले उच्च वरियताकी खेलाडीलाई पराजित गर्दै यो सफलता हात पारिन्।

IMG_7157-1748946603.JPG
एरिकाले यसअघि २०२२ को एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्, जुन २५ वर्षपछि नेपालले व्यक्तिगत स्पर्धामा जितेको पहिलो रजत पदक थियो।  त्यसपछि उनले २०२४ को यूएस ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत पदक जितेकी थिइन्। यसैगरी, २०२५ को कराते-१ युथ लिगमा पनि उनले रजत पदक जितेकी थिइन्।

एरिकाको यो उपलब्धिपछि उनी काठमाडौं फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, अन्य खेलाडीहरू, समर्थकहरू र शुभेच्छुकहरूले भव्य स्वागत गरेका थिए।  एरिकाले स्वागत कार्यक्रममा भनिन्, “यो पटक मैले कांस्य जितें, तर मेरो लक्ष्य भविष्यमा स्वर्ण पदक ल्याउनु हो।”

एरिका गुरुङको यो ऐतिहासिक सफलता नेपाली करातेको लागि मात्र होइन, सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको लागि गर्वको विषय हो। उनको समर्पण, मेहनत र आत्मबलले आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्